लेटाङ । लामो समयदेखि स्थानीयवासीले आवाज उठाउँदै आएको बुद्ध मार्गको बाँकी खण्डको सडक कालोपत्रेका लागि काम सुरु गरिएको छ ।
बुद्धमार्गको लेटाङ ५ मा पर्ने घिमिरे चौकदेखि लाफाचौकसम्म यसअघि नै सकड कालोपत्रे भएपनि बाँकी खण्ड कालोपत्र नहुँदा स्थानीयवासीलाई समस्या भएपछि उनीहरुले पटक–पटक आवाज उठाउने गरेकोमा नगरपालिकाले स्थानीयको माग सम्बोधन गर्दै सडक कालोपत्रेको काम थालेको छ ।
कोशी प्रदेश सरकारको समपुरक अनुदान र लेटाङ नगरपालिकाको लागतमा बुद्धमार्गको चिल्डेन पार्कदेखि घिमिरेचौकसम्म र लाफा चौकदेखि खेरुवा खोलासम्मको खण्डमा ठेक्का प्रकृयामार्फत कालोपत्रेका लागि काम सुरु गरिएको हो ।
लेटाङ नगरपालिकाका इञ्जिनियर भानुभक्त राईका अनुशार कूल १ करोड ३५ लाख बजेट छुट्याएकोमा जय भवानी निर्माण सेवाले ९९ लाख २९ हजारमा ठेक्का पारेर काम सुरु गरेको हो । दुई खण्डमा गरेर कूल १२ सय ७० मिटर लम्वाई र साढे ५ मिटरको चौडाइमा आसपाल कंक्रिट प्रविधिको कालोपत्रे गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।
लेटाङ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष भूमबहादुर सूर्यमगरका अनुशार यसअघि बुद्ध मार्गको १२ सय ६१ मिटर खण्डमा कालोपत्रे भएकोमा यसवर्ष थप १२ सय ७० मिटर सडक कालोपत्रे गर्न लागिएको हो ।

लेटाङ बजार धाउने वडा नम्बर ५ कै सबैभन्दा पुरानो सडकको रुपमा रहेको बुद्ध मार्गको सबै खण्ड कालोपत्रे गर्ने योजना अनुशार समपुरक अनुदानमार्फत जनताको लागत सहभागिता बेगर सरकारकै लगानीमा कालोपत्रेको काम थालिएको उहाँको भनाइ छ ।
यसवर्ष खेरुवा खोलासम्म कालोपत्रे सम्पन्न हुने र आगामी आर्थिक वर्षमा खेरुवा खोलादेखि मजुवा हुँदै मोरङ खोलापारी जाँतेसम्म नै कालोपत्रे गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
मोरङको पूर्वी उत्तरी क्षेत्र मधुमल्ला, रमिते, टाँडी र जाँतेतर्फबाट लेटाङ बजार धाउने निकै पुरानो सो बाटोको बाँकी रहेको खण्ड पनि कालोपत्रे भएपछि स्थानीयवासी पनि हर्षित भएका छन् । सडक निर्माणको काम सुरु भएपनि गुणस्तरको विषयमा भने ढुक्क हुने अवस्था नरहेको स्थानीय टेकबहादुर कार्कीको भनाइ छ ।
यस्तै कतिपय स्थानीयवासीले भने सडक निर्माण गर्ने क्रममा चौबाटोहरुमा कालोपत्रेको चौडाइ फराकिलो बनाउनु पर्ने माग गरेका छन् । स्थानीयवासी लोकबहादुर लिम्बुले चिल्डेनपार्क नजिकै चौवाटो रहेकाले कालोपत्रे फराकिलो बनाउनु पर्ने माग गर्नुभयो । उहाँले छिटो–छरितो रुपमा गुणस्तरीय सडक निर्माण गरिदिन नगरपालिकासँग आग्रह समेत गर्नुभयो ।
यता नगरपालिकाले समेत स्थानीयवासीको आग्रह बमोजिम चौवाटोहरुमा कालोपत्रे निर्माण गर्दा फराकिलो बनाउन लागिएको जनाएको छ । नगरपालिकाका इञ्जिनियर भानुभक्त राईले स्टमेटमा नभएपनि चौक र घुम्तीहरुमा फराकिलो कालोपत्रे बनाइ दिन ठेकेदार कम्पनीलाई आग्रह गरिएकोमा सोही अनुशार बनाउने विषयमा व्यवसायीले प्रतिवद्धता जनाएको जानकारी दिनुभयो ।
यस खण्डको कालोपत्रेको काम सम्पन्न भएसँगै बुद्ध मार्गको लेटाङ ४ स्थित चिल्डेपार्कदेखि लेटाङ ५ खेरुवा खोलासम्मको खण्ड कालोपत्रे सम्पन्न हुनेछ । अब खेरुवा खोलादेखि मजुवा हुँदै मोरङ्गे खोला पारी जाँतेसम्मको सडक पनि कालोपत्रे निर्माण सम्पन्न भए लेटाङ बजार धाउने निकै पुरानो यो सडकले पनि मुहार फेर्ने थियो ।