सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा माघ ३० गतेदेखि फागुन १० गतेसम्म सञ्चालन हुन लागेको सुन्दरहरैंचा विराट एक्स्पो २०८१ को प्रचार प्रसारका लागि आज आइतबार वृहतरुपमा पत्रकार सम्मेलन गरिएको छ । एक्स्पोको बारेमा जानकारी दिँदै प्रचार प्रचार गर्ने उद्देश्यले एक्स्पो आयोजना स्थलमा गरिएको पत्रकार सम्मेलनमा मोरङ, झापा र सुनसरी लगायत क्षेत्रका गरि करिव ५० जना पत्रकारहरुको उपस्थिति रहेको थियो ।

आयोजक सँस्था सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एक्स्पोका संयोजक भोलेश्वर दुलालले एक्स्पो आयोजना गर्नुको उद्देश्य लगायतका विषयमा पत्रकारहरुलाई जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्दै उहाँले सुन्दरहैँचा उद्योग वाणिज्य संघको अगुवाईमा नगरपालिकाका विभिन्न ८ ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्ने उद्देश्यले विगतका वर्षहरुमा सञ्चालन गरिएको एक्स्पोको निरन्तरताकै रुपमा यसवर्ष पनि आयोजना गरिएको जानकारी दिनुभयो ।
उहाँले एक्स्पोबाट ४ करोड आम्दानी हुने र खर्च कटाएर २ करोड बचत हुने अनुमान गरिएको पनि जानकारी दिनुभयो । एक्स्पोबाट कृषि उद्योग तथा पर्यटन लगायतका अािर्थक एवं औद्योगिक कृयाकलापको अभिवृद्धि गर्नुका साथै नविनतम ज्ञान तथा नवप्रवर्धनको खोजी गरि दिगो रोजगारी सिर्जना गर्ने उद्देश्य समेत लिइएको उहाँको भनाइ छ ।
विहान १० बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने एक्स्पोमा दिउँसो ३ बजेसम्मका लागि १ सय र त्यसपछिका लागि २ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । विद्यार्थीहरुलाई दिउँसोको सत्रमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने भीआपी ज्याकेट खरिद गर्नेले पनि निःशुल्क रुपमा प्रवेश पाउनेछन् ।
एक्स्पोमा विजेनेश स्थल ११४, कृषिका स्टल ४०, आटोमोवाइल्सका १५, होटलका १६ र गरि जम्मा विभिन्न १ सय ९४ वटा स्टल रहने संयोजक दुलालले जानकारी दिनुभयो । एक्स्पोमा आकर्षक वगैँचा, माछाको विशाल एक्युरियम लगायतका सेल्फीजोन, विभिन्न खेल मानोरञ्जन तथा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत आकर्षणको रुपमा रहने उहाँले बताउनुभयो ।
यसैबीच पत्रकार सम्मेलनपछि एक्स्पोका संयोजक भोलेश्वर दुलालले पत्रकारहरुलाई विराटचौक र सलकपुरमा निर्माण सम्पन्न भइसकेका २ वटा अत्याधुनिक सार्वजनिक शौचालय तथा पुस्तकालयको अवलोकन समेत गराउनु भएको छ । महिलामैत्री, अपाङ्गमैत्री, विश्रामकक्ष, धुम्रपानकक्ष तथा पुस्तकालय र बैठक कक्षसहितको सुविधा सम्पन्न शौचालय निर्माण भएको देखेपछि अवलोकनका लागि पुगको सञ्चारकर्मीहरुले समेत सो कार्यको प्रशंसा गरेका छन् ।
यसैबीच एक्स्पो आयोजना स्थलमा संरचना निर्माणको काम धमाधमरुपमा भइरहेको छ । यसवर्षको एक्स्पोमा ठूला ठूला डोम निर्माण गरि स्टल राखिने भएकाले त्यसका लागि ३ वटा डोम निर्माण भइरहेका छन् भने अन्य मनोरञ्जनात्मक खेलका भौतिक संरचना पनि निर्माण भइरहेको छ ।
सुन्दरहैँचा उद्योग वाणिज्य संघले ८ वर्षको अन्तरालमा निकै लामो तयारी गरेर अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीसहितको चौथो सुन्दरहरैँचा विराट एक्स्पो सञ्चालन गर्न लागेको हो । एक्स्पोको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्दैहुनुहुन्छ ।