लेटाङ । लेटाङ नगरपालिकाको आयोजनामा “प्रथम लेटाङ नगरपालिका स्तरीय खेलकुद महोत्सव २०८१” आज शनिबारदेखि सुरु भएको छ । लेटाङ नगरपालिकाका उपप्रमुख तथा नगर खेलकुद विकास समिति संयोजक कृष्णकुमारी निरौलाको अध्यक्षतामा विशेष समारोहकाबीच लेटाङ नगरपालिकाको ऐतिहासिक प्रथम खेलकुद महोत्सव भव्यरुपमा उद्घाटन गरि सुरु गरिएको हो । समारोहका प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले पानसमा दीप प्रज्ज्वलन गर्दै खेलकुद महोत्सव उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लावतीले नगरमा खेल क्षेत्रको विकास गर्दै नगरपालिकालाई खेलकुदको हवको रुपमा चिनाउन खेलकुद महोत्सव आयोजना गरेको बताउनुभयो । नगर प्रमुख लावतीले आफु निर्वाचित भएर आउनासाथ नगर खेलकुद विकास समिति गठन गरेर खेल क्षेत्रलाई सँस्थागत रुपमा विधिविधान ढंगले अघि बढाएको जानकारी दिनुभयो ।
खेलकुद महोत्सवमा करिव ६ सय खेलाडीले सहभागीता जनाउने बताउँदै उहाँले छिमेकी पालिकाको अभ्यासलाई समेत हेरेर पहिलो प्रयास स्वारुप खेलकुद महोत्सव आयोजना गरेको बताउनुभयो । उहाँले विजेताहरुका लागि पुरस्कार राशी त्यति आकर्षक नभएपनि खेल क्षेत्रका व्यक्तिहरुले सकारात्मक ढंगले लिएर खेलकुद महोत्सव सफल पार्न सहयोग गरि उत्साह जगाएकाले आगामी दिनमा अझ व्यवस्थित ढंगले खेल महोत्सव सञ्चालन गरिने बताउनुभयो ।
नगर प्रमुख लावतीले खेलमा सहभागीता जनाउनु नै एकप्रकारको जित रहेको भन्दै हारजित भन्दा पनि शान्तिपूर्ण र अनुशासिन ढंगले सहभागी भएर खेलकुद महोत्सव सफल बनाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लेटाङ नगरपालिका उपप्रमुख तथा नगर खेलकुद विकास समिति संयाजक कृष्णकुमारी निरौलाले पहिलो पटक खेलकुद महोत्सव सञ्चालन गरेकाले पहिलो अभ्यासमा केहि कमिकमजोरी रहेको हुनसक्ने भन्दै आगामी दिनमा अझ व्यवस्थितरुपमा खेलकुद सञ्चालन गर्ने बताउनुभयो ।
बजेटको सिमितताका कारण धेरै खेल विधालाई खेलकुद महोत्सवमा समेट्न नसकेको बताउँदै उहाँले आगामी दिनमा अन्य विधालाई पनि जोडेर जाने बतउनुभयो । उपप्रमुख निरौलाले नगपालिकाले खेल क्षेत्रको विकासका लागि भलिवलको प्रशिक्षण सञ्चालन गरिरहेको तथा फुटबल र क्रिकेटको प्रशिक्षण सञ्चालन गर्ने तयारी गरिरहेको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले स्वागत मन्तव्य राख्नुभयो भने नेपाली कांग्रेस लेटाङका सभापति दीपकचन्द्र राईले राजनीतिक दलहरुको तर्फबाट शुभकामना मन्तव्य राख्नुभयो ।
खेलकुद महोत्सवको उद्घाटनका अवसरमा विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडासदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न सँघसँस्थाका प्रतिनिधिहरु, सञ्चारकर्मीहरु, खेलाडीहरु तथा विद्यार्थीहरुको समेत उपस्थिति रहेको थियो ।
सो अवसरमा लेटाङ ६ स्थित महाभारत माध्यमिक विद्यालयका विद्यार्थीहरुले निकै आकर्षक ड्रिल प्रस्तुत गरेका थिए । यसैगरि कार्यक्रममा लेटाङ नगरपालिकाको स्थानीय स्काउटकले समेत आफ्नो प्रस्तुति प्रदर्शन गरेर कार्यक्रमलाई भव्यता प्रदान गरेको थियो ।
पुरुष फुटबलतर्फ वडा नम्बर २ र ३ विजयी
लेटाङ खेलकुद महोत्सव अन्तरगत आज शनिबार भएको पुरुष फुटबल खेलमा वडा नम्बर २ र वडा नम्बर ३ विजयी भएका छन् । जनसेवा खेल मैदानमा भएको पहिलो खेलमा वडा नम्बर ९ लाई १ का विरुद्ध २ गोलले पराजित गर्दै वडा नम्बर २ ले विजयी सुवात गरेको हो ।
खेलको पहिलो हाफमा वडा नम्बर २ का नविन राईले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाएकामा पहिलो हाफमै वडा नम्बर ९ का सजिन मस्की मगरले गोल गर्दै बराबरी गरेका थिए । यता खेलको दोश्रो हाफमा वडा नम्बर २ का कप्तान अनुप मगरले गोल गर्दै वडा नम्बर २ को जित सुनिश्चत गरे ।
यसैगरि आज शनिबार नै भएको दोश्रो खेलमा वडा नम्बर ५ लाई ट्राइवेकरमा ३–१ ले पराजित गर्दै वडा नम्बर ३ विजयी भएको छ । निर्धारित ६० मिनेटको खेलमा दुवै टीमले १–१ गोल गरेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
अब वडा नम्बर २ ले सेमीफाइनलमा वडा नम्बर ४ र ६ को बिजेतासँग प्रतिस्पर्धा गर्नेछ भने वडा नम्बर ३ ले सेमीफाइनलमा वडा नम्बर ८ र १ को बिजेतासँग प्रतिस्पर्धा गर्नेछ । दुवै सेमीफाइनल खेल फागुन ४ गते १ बजे र ३ बजे हुनेछन् ।
पुरुष फुटबल अन्तरगत भोलि आइतबार १ बजे हुने पहिलो खेलमा वडा नम्बर ४ र ६ तथा ३ बजे हुने दोश्रो खेलमा वडा नम्बर ८ र १ प्रतिस्पर्धा गर्दैछन् । वडा नम्बर ७ ले भने फुटबलतर्फ सहभागिता जनाएको छैन । फुटबलतर्फ प्रथम हुने टीमले ट्रफिसहित नगद ५० हजार, दोश्रोले नगद ३० हजार र तेश्रोले २० हजार पुरस्कार पाउनेछन् ।
महिला भलिवलतर्फ वडा नम्बर ९ र ३ विजयी
लेटाङ खेलकुद महोत्सव अन्तरगत आज शनिबार भएको महिलातर्फको भलिवल खेलमा वडा नम्बर ९ र वडा नम्बर ३ विजयी भएका छन् । पहिलो खेलमा वडा नम्बर ३ ले ८ लाई ३–० को सोझो सेटमा पराजित गरेको हो । यस्तै दोश्रो खेलमा पनि वडा नम्बर ९ ले वडा नम्बर १ लाई ३–० को सोझो सेटमै पराजित गर्यो ।
आज शनिबारको पहिलो खेलमा विजयी हुने वडा नम्बर ३ ले सेमीफाइनल पुग्नका लागि वडा नम्बर २ सँग प्रतिस्पर्धा गर्नुपर्नेछ भने दोश्रो खेलमा विजयी हुने वडा नम्बर ९ भने सिधै सेमीफाइनलमा पुगेको छ । अब वडा नम्बर ९ ले सेमीफाइनलमा वडा नम्बर ४ र ५ को बिजेतासँग खेल्नेछ ।
महिलातर्फको भलिवलमा भोलि आइतबार विहान ८ बजे हुने पहिलो खेलमा वडा नम्बर ६ र ७ तथा ११ बजे हुने दोश्रो खेलमा वडा नम्बर ४ र ५ प्रतिस्पर्धा गर्दैछन् । महिला भलिवलतर्फ प्रथम हुने टीमले ट्रफिसहित ४० हजार, दोश्रोले २७ हजार र तेश्रो हुने टीमले १३ हजार ५ सय पुरस्कार पाउनेछन् ।
पुरुष भलिवलतर्फ वडा नम्बर ७ र ८ विजयी
लेटाङ खेलकुद महोत्सव अन्तरगत आज शनिबार भएको पुरुषतर्फको भलिवल खेलमा वडा नम्बर ७ र वडा नम्बर ८ विजयी भएका छन् । पहिलो खेलमा वडा नम्बर ७ ले ३ लाई ३–१ को सेटमा पराजित गर्दा दोश्रो खेलमा वडा नम्बर ८ ले वडा नम्बर २ लाई ३–० को सोझो सेटमा पराजित गर्यो ।
आज शनिबारको खेलमा विजयी हुने वडा नम्बर ७ ले फागुन ५ गते हुने पहिलो सेमीफाइनलमा वडा नम्बर ९ र ६ को बिजेतासँग खेल्नेछ । यस्तै वडा नम्बर ८ ले फागुन ५ गते हुने दोश्रो सेमीफाइनलमा वडा नम्बर १ र ५ को बिजेतासँग खेल्नेछ ।
पुरुष भलिवलतर्फ भोलि आइतबार विहान ८ बजे हुने पहिलो खेलमा वडा नम्बर ९ र ६ तथा ११ बजे हुने दोश्रो खेलमा वडा नम्बर १ र ५ प्रतिस्पर्धा गर्दैछन् । पुरुष भलिवलतर्फ प्रथम हुने टीमले ट्रफिसहित ४० हजार, दोश्रोले २७ हजार र तेश्रो हुने टीमले १३ हजार ५ सय पुरस्कार पाउनेछन् ।