लेटाङ । लेटाङका प्रमुख राजनीतिक दलहरुले नगर क्षेत्रमा सन्तोषजनक रुपमा भौतिक विकासको काम भइरहेको बताएका छन् । लेटाङ नगरपालिकामा सञ्चालित मुख्य मुख्य विकास निर्माणका योजनाहरुको अनुगमन पश्चात नगरका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरुले नगर क्षेत्रको विकास सन्तोषजनक रुपमा भइरहेको पाइएको प्रतिकृया दिएका हुन् ।
सामाजिक सञ्जाल लगायतका विभिन्न फोरमहरुमा कतिपयले विकास निर्माणप्रति असन्तुष्टि जनाउँदै विरोध गर्ने गरेकोमा प्रमुख राजनीतिक दलका प्रतिनिधिहरुले भने नगरपालिकाले पूर्वाधार विकासको क्षेत्रमा सन्तोषजनक रुपमै काम गरिरहेको पाइएको बताएका हुन् ।
गत सोमबार लेटाङ नगरपालिकाका नगर प्रमख भूपेन्द्रकुमार लावती र उपप्रमुख कृष्णकुमारी निरौलाले नगरका महत्वपूर्ण योजनाहरुको अवलोकन गराएपश्चात प्रमुख राजनीतिक दलका प्रतिनिधिहरुले सञ्चारकर्मीसँग प्रतिकृया दिंदै यस्तो प्रतिकृया दिएका हुन् ।

नेपाली कांग्रेसका नगर सभापति दीपकचन्द्र राईले नगर क्षेत्रमा क्रमागत रुपमा भौतिक विकास निर्माणका काम भइरहेको पाइएको बताउनुभयो । उहाँले केन्द्रबाट सन्तोषजनकरुपमा बजेट नआएर समयमा योजना सम्पन्न नहुँदा जनमानसमा स्थानीय सरकारले काम नगरेको होकी भन्ने भान परेको पनि बताउनुभयो ।
यसैगरि नेकपा एमाले नगर कमिटी सचिव जीतबहादुर लामाले पनि नगर क्षेत्रको विकास निर्माणको अवस्था सन्तोषजनक नै रहेको पाइएको बताउनुभयो । उहाँले जनताका सबै अपेक्षा पुरा हुन नसकेपनि सबै क्षेत्रलाई समेटेर विकासका काम अगाडी बढिरहेको पाइएको बताउनुभयो ।

यसैगरि एकीकृत माओवादीका नगर कमिटी अध्यक्ष भूपेश लिम्बूले नगर क्षेत्रमा भौतिक पूर्वाधार विकासको काम उल्लेखनिय रुपमा भइरहेको पाइएको बताउनुभयो । भौतिक विकासको क्षेत्रमा काम भइरहे पनि नगरवासीको आयआर्जन वृद्धि गर्ने विषयमा भने काम गर्न आवश्यक रहेको उल्लेख गर्नभुयो ।
यसैगरि एकीकृत समाजवादीका नगर अध्यक्ष अग्नी पौडेलले नगर क्षेत्रमा भौतिक विकासका काम भइरहे पनि आर्थिक विकास र समाजिक विकासका क्षेत्रमा भने धेरै काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले नगरवासीको सम्वृद्धिका लागि उद्यमशीलताको विकासका क्षेत्रमा काम गर्न जरुरी रहेको उल्लेख गर्नुभयो ।
यसैगरि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि रत्न सूर्यमगरले पनि अवलोकनका क्रममा नगर क्षेत्रमा भौतिक विकासको काम सन्तोषजनकरुपमा भइरहेको पाइएको बताउनुभयो । नगरपालिकाले काम गरेन भनेर गुनोश आउने गरेको भएपनि त्यसमा सत्यता नरहेको उहाँको भनाइ छ ।
यस्तै संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका नगर कमिटी अध्यक्ष किशोर राईले नगर क्षेत्र भित्रमा धेरै विकास निर्माणका काम भएको पाइएको बताउनुभयो । नगरपालिकाले केहि गरेको छैन भन्ने भ्रम रहेको भन्दै उहाँले धेरै विकास निर्माणका काम हुँदै गरेको पाइएको बताउनुभयो ।
यसैगरि जसपा नेपालका प्रतिनिधि रामकुमार राईले अवलोकनका क्रममा लेटाङ नगर क्षेत्रमा धेरै विकास निर्माणका काम भएको पाइएको बताउनुभयो । ती कामहरु बारे आफूलाई समेत यसअघि थाहा नभएको भन्दै उहाँले नगरपालिकामा केही भएकै छैन भन्ने केबल हल्ला मात्र भएको बताउनुभयो ।

यसैगरि खम्वुवान राष्ट्रिय मोर्चाका प्रतिनिधि दिलराम राईले पूर्वाधार विकासका क्षेत्रमा नगरपालिकाले आफ्नो बलबुताले भ्याएसम्म काम गरिरहेको पाइएको बताउनुभयो । उहाँले विकास निर्माणको कामको गुणस्तरको विषयमा नियमन तथा अनुगमन भने प्रभावकारी रुपमा गर्नुपर्नेमा जोड दिनुभयो ।
लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले पहिलो चरणमा केही भौतिक पूर्वाधारहरुको अवलोकन गरिएको भन्दै आगामी दिनमा आर्थिक तथा सामाजिक विकास तथा सुशासनका क्षेत्रमा भएका काम बारे जानकारी गराउने बताउनुभयो । उहाँले राजनीति दलका प्रतिनिधिहरुले दिएका सुझवाहरुलाई आगामी वर्षको नीति तथा बजेट निर्माणका क्रममा संभव भएसम्म समेटेर अघि बढ्ने प्रतिवद्धता समेत जनाउनु भयो ।
लेटाङ नगरपालिकाले नगरमा कृयाशील राजनीति दलका प्रतिनिधिहरुलाई नगर क्षेत्रमा नगरपालिका, प्रदेश सरकार र संघीय सरकारबाट सञ्चालन भइरहेका पूर्वाधार विकास आयोजनाहरुको बारेमा जानकारी दिने उद्देश्यले स्थलगत अवलोकन गराएको हो ।
अवलोकनमा सहभागी सबै राजनीतिक दलका प्रतिनिधिहरुले नगर क्षेत्रको भौतिक विकास बारे सकरात्मक प्रतिकृया दिनुले नगरपालिकामा भौतिक विकासको क्षेत्रमा आशा जगाउने गरि काम भइरहेको ठहर गर्न सकिन्छ ।