इनरुवाः सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीसँगको झडपमा गोली लागेर घाइते भएका थप एक जनाको उपचारका क्रममा आज मृत्यु भएको छ । योसँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ ।
विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको हो । प्रहरीका अनुसार चिकित्सकले मेहतालाई दिउँसो १ बजेर मिनेट जाँदा मृत घोषणा गरेका थिए ।
सो झडपमा गोली लागेर घाइते भएका अन्य ८ जनाको अहिले विराटनगरका न्युरो, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सो झडपमा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए ।