लेटाङ । लेटाङ नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य राजारानीमा पुग्दा लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीसहितको टोलीलाई स्थानीयवासीले विशेष स्वागत गरेका छन् । नगर प्रमुख सहितको टोलीलाई स्वागत गर्न स्थानीयवासी मगर समुदायको परम्परागत पोशाकमा सजिएर हातमा फूलको मालासहित लामबद्ध भएर उभिएका थिए । उनीहरुले फूलको माला र अविर लगाएर मादल बजाउँदै स्वागत सत्कार गरे । स्वागत गर्ना साथ मकैको विस्केट र मोही पिउन दिए ।

त्यसपछि नगर प्रमुख सहितको टोलीलाई सामुदायीक हलमा प्रवेश गराइयो । हलको वीचमा राखिएको टेबलमा थरिथरिका स्थानीय परिकार पस्किएर राखिएको थियो । विभिन्न प्रकारका खानाका परिकार, मासुका परिकार, कोदोको रोटी, च्याख्लाको खिर, स्याउको जाम लगायतका तयारी खाना टेबलमा सजाएर राखिएको थियो । यसरी राखिएको खानाका परिकार नगर प्रमुख सहितको टोलीलाई चखाइयो ।
नगर प्रमुख सहितको टोलीलाई यसरी स्वागतमा खटिएका स्थानीयवासीहरु खासमा लेटाङ नगरपालिकाले सञ्चालन गरेको रैथाने परिकार बनाउने तालिममा सहभागीहरु हुन् । लेटाङ नगरपालिकाले वडा नम्बर १ राजारानीमा होमस्टे सेवा सुरु गर्ने उद्देश्यले सञ्चालन गरेको ७ दिने तालिममा सहभागीहरुले तालिमको अन्तिम दिन अतिथि सत्कार अभ्यास र परिकार बनाउने अभ्यास गरेका हुन् । तालिम सकिएपछि समिति गठन गरि सामुदायिक होमस्टे सञ्चालन गर्नुपर्ने भएकाले सहभागीहरुले त्यसको अभ्यास गरेर नगर प्रमुख सहितको टोलीलाई देखाएका हुन् ।
नगरका केहि पर्यटकीय क्षेत्रहरुमा होमस्टे सेवा सञ्चालन गर्ने योजना रहेकोमा पहिलो चारणमा राजारानीबाट सुरु गर्ने उद्देश्यका साथ स्थानीयवासीलाई रैथाने परिकार बनाउने तालिम प्रदान गरिएको नगर प्रमुख लावतीले जानकारी दिनुभयो । राजारानीसहित कुवापानी र समलामा पनि होमस्टे सेवा सञ्चालन गर्दै जाने उहाँको भनाइ छ ।
तालिममा वडा नम्बर १ राजारानी क्षेत्रका १५ जना स्थानीयवासी सहभागी भएका थिए । उनीहरुलाई समापन कार्यक्रमका अवसरमा प्रमाणपत्र वितरण गरिएको छ । समापन कार्यक्रममा बोल्दै लेटाङ १ का वडाध्यक्ष विष्णु मगरले निकै दक्ष प्रशिक्षकद्वारा निकै महत्वपूर्ण तालिम सञ्चालन गरेकोमा नगरपालिकालाई धन्यवाद दिनुभयो ।
वैशाख २६ गतेदेखि सुरु भएर जेठ १ गते सम्पन्न भएको तालिममा काभ्रेपलाञ्चोक जिल्लाका होमस्टे सञ्चालक तथा प्रशिक्षक नारायण तामाङले प्रशिक्षण दिनु भएको थियो । लेटाङको भूगोल पर्यटकीय हिसावले निकै महत्वपूर्ण रहेको भन्दै उहाँले नगरपालिकाले पनि पर्यटन विकासमा विशेष चासो देखाएको पाइएको बताउनुभयो ।
तालिममा सहभागी भएका प्रशिक्षाथीहरुले तालिमबाट धेरै महत्वपूर्ण कुराहरु थाहा पाएको बताएका छन् । रैथाने बालीबाट नै स्वादिष्ट र स्वस्थकर परिकार बनाउन सकिने ज्ञान पाएको भन्दै उनीहरुले खुशी व्यक्त गरेका छन् । प्रशिक्षार्थी रेवती मगरले तालिमबाट धेरै कुरा सिकेको भन्दै सामुदायीक हललाई व्यवस्थित बनाइ दिन नगर प्रमुखसँग आग्रह गर्नुभयो ।
उहाँले तालिममा मकैको विष्कुट, फापरको रोटी, चुकन्दरको पुरी, टिमुरे कुखुरा, मिसमास तरकारी, लसुन भात, कोदोको पानकेक, जोगी राइस, कागती भात, कुखुराको छोइला, पुलाउ, च्याख्लाको खिर लगायतका ७० परिकार बनाउन सिकेको जानकारी दिनुभयो ।
लेटाङ नगरपालिकाले नगरपालिकाका पर्यटकीय क्षेत्रहरुलाई ६ वटा क्लस्टरमा विभाजन गरि पर्यटन गुरु योजना निर्माण गरेको छ । सोही गुरु योजना अनुशार लेटाङ १ को राजारानी र कुवापानी तथा लेटाङ ७ को समलामा होमस्टे सेवा सञ्चालन गर्ने योजना अनुशार पहिलो चरणमा राजारानीमा होमस्टे सुरु गर्न लागिएको हो ।