कम लगानीमा धेरै मुनाफा लिन सकिने
माटोको घारमा लोकल मौरी पालेर व्यवसायिक सफलता खोज्दै केराबारीका राजु राई (भिडियोसहित)

Morang Khabar 1+ समाचार ( )
परम्परागत तथा महँगा घारको तुलनामा माटोको घार बनाउन कम लगानी लाग्ने र स्थानीय मौरीबाट उत्पादन हुने महको बजार मूल्य पनि राम्रो पाइने भएकाले यसबाट बढी मुनाफा लिन सकिने उनको अनुभव छ ।
२३ भाद्र २०८३, मङ्गलबार

केरावारी । परम्परागत रूपमा मौरीपालन गर्दै आएका मोरङको केरावारी–५, सतिसालेका राजु राई अहिले नयाँ प्रविधिको प्रयोगसँगै व्यावसायिक मौरीपालनतर्फ अघि बढिरहेका छन् ।

परम्परागत ज्ञान र अनुभवका आधारमा मौरीपालन गर्दै आएका राईको सोचमा परिवर्तन आयो, जब उनले उत्तरी मोरङ पहाडी विकास संस्था (हडन) मार्फत व्यावसायिक तालिम लिने अवसर पाए । तालिमबाट आधुनिक तथा व्यावसायिक ज्ञान हासिल गरेपछि उनले यस व्यवसायलाई अझ व्यवस्थित र विस्तार गर्ने योजना बनाए ।

तालिमसँगै हडनबाट सहुलियतपूर्ण कर्जा पाएपछि उनको योजना व्यवहारमा परिणत भयो । त्यसपछि उनी व्यावसायिक रूपमा मौरीपालनमा सक्रिय भएका हुन् ।

मौरीपालनलाई नयाँ ढंगबाट अगाडि बढाउने क्रममा राईले भारतको सिक्किम र दार्जिलिङ क्षेत्रमा माटोको घारमा मौरीपालन गरिएको देखेका थिए । त्यहाँको अनुभव र प्रविधिबाट प्रभावित भएर उनले आफ्नै ठाउँमा पनि माटोको घारमा स्थानीय जातको मौरीपालन गर्ने प्रयोग थाले ।

उनको यो प्रयोग सफल भएको छ । माटोको घारमा स्थानीय मौरीपालन गर्दा राम्रो सम्भावना देखिएको राई बताउँछन् । परम्परागत तथा महँगा घारको तुलनामा माटोको घार बनाउन कम लगानी लाग्ने र स्थानीय मौरीबाट उत्पादन हुने महको बजार मूल्य पनि राम्रो पाइने भएकाले यसबाट बढी मुनाफा लिन सकिने उनको अनुभव छ ।

“माटोको घारमा स्थानीय मौरीपालन गर्दा लागत कम हुन्छ र उत्पादनको मूल्य पनि राम्रो पाइन्छ,” राई भन्छन्, “यसमा राम्रो सम्भावना देखेकाले अब व्यवसायलाई अझ विस्तार गर्ने योजना बनाएको छु।”

तालिम, प्रविधि र सहुलियतपूर्ण कर्जाको उचित उपयोग गर्दै राईले परम्परागत मौरीपालनलाई व्यावसायिक यात्रातर्फ डो¥याएका छन् । स्थानीय स्रोत र नयाँ प्रविधिको संयोजन गर्दै उनको प्रयास केरावारी क्षेत्रमा मौरीपालन व्यवसायका लागि एउटा प्रेरणादायी उदाहरण बन्न सक्ने देखिन्छ ।

पछिल्लो समय उनले यो प्रविधि पालिकाका अन्य किसानहरुलाई समेत सिकाएका छन् । केराबारी गाउँपालिकामार्फत भएको तालिमबाट उनले नयाँ प्रविधिलाई अन्य किसानहरुमा विस्तार गर्ने अवसर पाएका हुन् । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार