उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका क्षेत्रमा पछिल्लो समय जंगली हात्तीको आतंक बढेको छ । उर्लाबारी नगरपालिकाको १, २ र ४ लगायतका वडाहरुमा दिनहुँ जसो जङ्गली हात्तीले आतंक मच्चाउने गरेको छ ।
सोमबार पनि बिहानको समयमा उर्लाबारी २ सुविधारे झोडा माथ्लो डुम्रे क्षेत्रमा खेम बहादुर शिवाको घरमा हात्तीले क्षति पुर्याएको छ । बिहान आएको एउटा जङ्गली हात्तीले शिवाको घरमा राखेको धान खानुका साथै घरमा क्षति पुर्याएको स्थानीयले बताएका छन् ।
यसअघि आइतबार पनि उर्लाबारीको प्रमुख पर्यटकीय स्थल बेतिनी सिमसारको छेउमा रहेको सत्र घरे टोलमा राति ११ बजे देखि जङ्गली हात्ती गाउँ पसेको थियो । हात्तीले स्थानीय फुलमाया मगरको घरमा क्षति पुर्याउनुका साथै धान खाइदिएको छ । उर्लाबारी नगरपालिकाको दमकल प्रयोग गरि हात्तीलाई जङ्गलतर्फ धपाइएको थियो । यसरी दिनहुँ जङ्गली हात्ती आएर आतंक मच्चाउन थालेपछि स्थानीयबासी त्रासमा रात काट्न बाध्य भएका छन् । उनीहरु रातभर जाग्राम बस्ने, आगो बाल्ने गर्दै हात्ती रुग्न बाध्य छन् ।
हात्ती धपाउन उर्लाबारी नगरपालिकाको दमकलको सहयोग लिने गरिए पनि तत्काल दमकल आइनपुग्दा हात्ती गाउँ छिर्ने गरेको छ । हात्ती धपाउन दमकल प्रयोगका लागि नगरपालिकाबाट स्वीकृति लिनुपर्ने झन्झट भएकाले स्थानीयलाई समस्या भएको छ ।