लेटाङ । श्री शान्ती भगवती माध्यमिक विद्यालय लेटाङले ७१ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ । शनिबार लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्र कुमार लावतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

विद्यालयका पूर्वविद्यार्थीहरु, व्यवस्थापन समितिका पूर्वअध्यक्ष, पूर्वप्रधानाध्यापकहरु र पूर्वशिक्षकहरुलाई सम्मान गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको छ । सोही अवसरमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत निर्मित भवनको लेटाङ नगरपालिका प्रमुख भुपेन्द्र कुमार लावती र उपप्रमुख कृष्ण कुमारी निरौलाले उद्घाटन गनुभयो ।
यसैगरि कार्यक्रममा विभिन्न दाताहरुबाट स्थापना गरिएको अक्षयकोषमार्फत जेहेन्दार तथा विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ भने विभिन्न व्यक्ति तथा समूहले अक्षक कोष स्थापनाको घोषणा गरेका छन् ।
लेटाङ ४ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राम कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख, उपप्रमुखसहित पूर्वनगर प्रमुख शंकर राई, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष देवराज चाम्लिङ लगायतका सामाजिक व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
सो अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने विज्ञान प्रदर्शनी र खानाका परिकारका स्टलहरु समेत राखेका थिए ।

विक्रम संवत् २००९ सालमा स्थापना भएको श्री शान्ती भगवती माध्यमिक विद्यालय लेटाङकै पहिलो विद्यालय हो । विद्यालयमा हाल प्राविधिक विषय समेत पठन पाठन हुने गरेको छ ।
