लेटाङ । लेटाङ ८ जाँतेस्थित नमुना वचत तथा ऋण सहकारी सँस्थाको २६ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सँस्थाको कार्यालय परिसरमा अध्यक्ष कुवेर पौडेलको अध्यक्षता तथा लेटाङ ८ का वडाध्यक्ष भीमप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा विविध कार्यक्रमका साथ साधारणसभा सम्पन्न भएको हो ।
साधारण सभामा संस्थाका अध्यक्ष कुवेरप्रसाद पौडेलले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । अध्यक्ष पौडेलले प्रतिवेदन प्रस्तुत गर्दै देशमा देखिएको आर्थिक मन्दी र सहकारी क्षेत्रमा परेको असहज परिस्थितिमा पनि संस्थाले सदस्यहरूको बचत सुरक्षा र विश्वासलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।
उहाँले सहकारीलाई पारदर्शी, वित्तीय रूपमा अनुशासित र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता पनि जनाउनुभयो । साथै आगामी दिनमा नियमित ऋण असुली, पर्याप्त तरलता व्यवस्थापन, सदस्य हितका कार्यक्रम तथा वित्तीय साक्षरतामा विशेष ध्यान दिइने उहाँको भनाइ छ ।

कार्यक्रमका प्रमुख अतिथि लेटाङ ८ का वडाध्यक्ष भीमप्रसाद पोखरेलले अग्रजहरुले सहकारी स्थापना गरेका कारण व्यापार व्यवसाय सञ्चालन गर्न तथा घर व्यवहार चलाउने पूँजी जुटाउन सहज भएको बताउँदै सँस्थापकहरुलाई धन्यवाद दिनुभयो । उहाँले नमुना सहकारी जाँते क्षेत्रकै जेष्ठ सहकारी रहेको भन्दै ४१ जना जेष्ठ नागरिकलाई सम्मान गरेकोमा सँस्थालाई पनि धन्यवाद दिनुभयो ।
वडाध्यक्ष पोखरेलले लेटाङ ८ मा रहेका नमुना वचत र पञ्चमुखि सकोसलाई एकीकरण गरेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले बाहिरबाट आएका सहकारीहरुलाई जित्ने गरि दरिलो सहकारी बनाउनु पर्ने उल्लेख गर्नुभयो ।
साधारण भामा आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित कार्यक्रम पुस्तिका र अनुमानित वासलात पेश गरिएको छ ।
सचिव मनोरथ घिमिरेले सँस्थाको वित्तिय अवस्था, सँस्थाले प्रदान गर्दै आएको सेवा सुविधा र वर्ष भरि सञ्चालन गरेका कृयाकलापहरु बारे जानकारी गराउनुभयो ।
यस्तै कोषाध्यक्ष सदानन्द निरौलाले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित बजेट तथा अनुमानित वासलात प्रस्तुत गर्नुभयो । वित्तीय विवरण अनुसार आगामी २०८४ असार मसान्तसम्ममा संस्थाको कुल पूँजी ९ करोड ९४ लाख ४८ हजार १४ रुपैयाँ ६० पैशा पुर्याउने अनुमान गरिएको छ ।
यस्तै कार्यक्रममा लेखा तथा सुपरिवेक्षण समिति संयोजक मञ्जू वूर्जा मगरले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै आवश्यक सुझाव पनि पेश गर्नुभयो ।

साधारणसभाको अवसरमा ४१ जना जेष्ठ सदस्यहरुसहित विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । जेष्ठ सदस्यहरुको योगदानकै कारण सँस्था यहाँसम्म आइपुगेकाले एकमुष्ट रुपमा ४१ जनालाई नै सम्मान गरिएको सँस्थाले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले दोसल्ला ओढाएर विशेष उपहारसहित जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुभयो ।
यसैगरि उत्कृष्ट ऋणि, उत्कृष्ट मासिक वचतकर्ता, उत्कृष्ट दैनिक वचतकर्ता, कक्षा १२ मा उत्कृष्ट अंक ल्याइ उत्तीर्ण हुने विद्यार्थीहरु लगायतलाई सम्मान गरिएको छ ।
कार्यक्रममा समाजसेवी इन्द्रबहादुर मावोहाङ, सँस्थाका पूर्वअध्यक्ष कृष्णप्रसाद खतिवडा, विभिन्न सहकारी सँस्थाका प्रतिनिधिहरु, सामाजिक सँस्थाका प्रतिनिधिहरु लगायतको आतिथ्यता रहेको थियो ।