आधारभूत स्वास्थ्य सेवा सबै स्थानीय तहसम्म पुर्याउने नेपाल सरकारको नीतिअनुसार तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको देशभरका ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माण गर्ने योजनाअन्तर्गत लेटाङमा पनि १० शैय्याको अस्पताल भवन निर्माण अघि बढाइएको थियो ।
लेटाङ नगर अस्पतालको नयाँ भवन उद्घाटन, सेवा समेत शुभारम्भ (भिडियोसहित)

Morang Khabar 1+ समाचार ( )
१५ भाद्र २०८३, सोमबार


लेटाङ । मोरङको लेटाङ नगरपालिकाले नगर अस्पतालको नयाँ भवन उद्घाटन गरी सेवा सञ्चालनमा ल्याएको छ । लेटाङ–३, विरनमा सञ्चालन हुँदै आएको नगर अस्पताललाई लेटाङ–५ खेरुवास्थित नवनिर्मित सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरी नयाँ भवनबाट सेवा सुरु गरिएको हो ।

सोमबार आयोजित एक कार्यक्रमबीच नगर प्रमुख भूपेन्द्रकुमार लावतीले शिलालेख अनावरण तथा नगर उपप्रमुख कृष्णकुमारी निरौला र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले प्रवेशद्वारमा राखिएको रिबन काटेर अस्पताल भवनको उद्घाटन गर्नुभयो ।
संघीय सरकार र लेटाङ नगरपालिकाको लागत साझेदारीमा २०७८ पौषमा निर्माण सुरु गरिएको १० शैय्याको आधारभूत अस्पताल भवन २०८२ फागुनमा मात्र निर्माण सम्पन्न भएको हो । १४ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको भएपनि विभिन्न समस्या, अवरोध तथा थप संरचना निर्माणका कारण ढिलो गरि अस्पताल भवन निर्माण सम्पन्न गरिएको नगरपालिकाका इन्जिनियर भानुभक्त राईले जानकारी दिनुभयो ।




आधारभूत स्वास्थ्य सेवा सबै स्थानीय तहसम्म पुर्याउने नेपाल सरकारको नीतिअनुसार तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको देशभरका ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माण गर्ने योजनाअन्तर्गत लेटाङमा पनि १० शैय्याको अस्पताल भवन निर्माण अघि बढाइएको थियो ।

तत्कालीन सरकारले २०७६ माघ २६ गते अस्पताल निर्माणका लागि १० करोड ८३ लाख ३६ हजार रुपैयाँ बजेट स्वीकृत गरेको थियो । लागत अनुमानअनुसार उक्त बजेट अपुग हुने देखिएपछि नगरपालिकाले २०७८ वैशाख १५ गते थप १ करोड ५२ लाख ४९ हजार २०९ रुपैयाँ थप गरी कुल १२ करोड ३५ लाख ८५ हजार २०९ रुपैयाँको लागत अनुमान स्वीकृत गरेको थियो ।

प्रेरा एचएम कन्स्ट्रक्सन जेभीले स्वीकृत लागत अनुमानभन्दा ९ दशमलव ५१ प्रतिशत कम अर्थात् ९ करोड ९९ लाख ३६ हजार ९ सय ३२ रुपैयाँमा भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो । सम्झौतापछि तत्कालीन संघीय सांसद घनश्याम खतिवडा र तत्कालीन नगर प्रमुख शंकर राईले २०७८ पौषमा संयुक्त रूपमा अस्पताल भवनको शिलान्यास गर्नु भएको थियो ।




ठेक्का सम्झौतामा समावेश संरचनाबाहेक थप संरचना निर्माण गर्नुपर्ने तथा मूल्य समायोजन लगायतका कारण अस्पतालको अन्तिम भुक्तानी लागत १२ करोड ९० लाख ९१ हजार ६ सय ९६ रुपैयाँ पुगेको इन्जिनियर राईले जानकारी दिनुभयो । उहाँका अनुसार यसमध्ये संघीय सरकारबाट ९ करोड ४७ लाख १९ हजार २४९ रुपैयाँ प्राप्त भएको छ भने बाँकी ३ करोड ४३ लाख ७२ हजार ४४७ रुपैयाँ नगरपालिकाको आन्तरिक स्रोतबाट भुक्तानी गरिएको छ ।

निर्माणका क्रममा कोरोना महामारी, ऐलानी जग्गामा भौतिक संरचना निर्माण गरिएको भन्दै परेको मुद्दा तथा विद्युतीय संरचना र फायर फाइटिङ प्रणालीलगायत थप काम गर्नुपर्ने भएकाले निर्माण अवधि लम्बिएको नगरपालिकाले जनाएको छ ।

अस्पतालको क्षेत्रफल उद्धार केन्द्रसहित १ बिघा १ कठ्ठा ४ धुर रहेको छ भने अस्पताल भवनले ओगटेको भुइँतल्ला ९४८ वर्गमिटर र पहिलो तल्ला ९४८ वर्गमिटर गरी कुल १ हजार ८९६ वर्गमिटर क्षेत्रफल रहेको छ ।

भवनमा इमर्जेन्सी, ओपीडी तथा मेजर र माइनर ओटी कक्ष निर्माण गरिएको छ । १३ जना क्षमताको लिफ्ट, अपांगमैत्री भर्याङ, फायर फाइटिङ प्रणाली तथा २५० केभीएको जेनेरेटर जडान गरिएको छ । विद्युतको भोल्टेज समस्या समाधान गर्न नगरपालिकाले ९ लाख ९७ हजार रुपैयाँ लागतमा स्टेबलाइजरसमेत जडान गरेको छ ।




अस्पताल परिसरको कम्पाउण्ड वाल कोशी प्रदेशको सहरी विकास मन्त्रालयको सहयोगमा निर्माण गरिएको हो । उद्धार केन्द्र निर्माण योजनाअन्तर्गत अस्पताल परिसरमा कम्पाउण्ड वाल तथा इन्टरलक पेभिङसमेत निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

यसअघि लेटाङ–३ विरनमा सञ्चालन हुँदै आएको नगर अस्पताललाई नयाँ भवनमा सार्ने विषयमा विवाद समेत भएको थियो । तर विरनमा नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्ने योजना अघि बढेपछि सहमतिमै अस्पताललाई लेटाङ–५ मा स्थानान्तरण गरिएको जनाइएको छ । विरनमा रहेको अस्पतालको पुरानो भवनमा अब भूमि व्यवस्थापन शाखा सञ्चालन गर्ने तयारी रहेको नगर प्रमुख भूपेन्द्रकुमार लावतीले जानकारी दिनुभयो । सोही स्थानमा प्रशासनिक भवन निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारीसमेत भइरहेको उहाँले जानकारी दिनुभयो ।

अस्पताल उद्घाटन कार्यक्रममा नगर प्रमुख भूपेन्द्रकुमार लावतीले अस्पताल निर्माणमा योगदान पुर्याउने सबैप्रति धन्यवाद व्यक्त गर्दै नयाँ भवनबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो । विभिन्न समस्या र अवरोधका बाबजुद सुविधा सम्पन्न भवन निर्माण गरी सेवा सञ्चालन गर्न सफल भएको उल्लेख गर्दै उहाँले अस्पतालको विकास र सेवा सुधारका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले विपन्न तथा बेसहारा नागरिकलाई निःशुल्क उपचार गराउने उद्देश्यले अस्पतालका लागि अक्षयकोष स्थापना गर्ने घोषणा पनि गर्नुभयो ।

यस्तै नगर उपप्रमुख कृष्णकुमारी निरौलाले अस्पताल निर्माणका क्रममा विभिन्न बाधा–व्यवधान आए पनि सबै पक्षको सहकार्यमा भवन निर्माण सम्पन्न गरी सेवा सञ्चालन गर्न सफल भएको बताउनुभयो । नगरवासीको सुझाव र सल्लाहका आधारमा अस्पतालको सेवा तथा गुणस्तरलाई थप सुधार गर्दै लैजाने उहाँको भनाइ छ ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत शशी राईले संघीय सरकारको डिजाइनअनुसार भवन निर्माण भएकाले केही प्राविधिक समस्या देखिए पनि आवश्यक व्यवस्थापन गरी अस्पताल सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो ।




यसैबीच अस्पतालका लागि स्थापना गर्न लागिएको अक्षयकोषमा स्थानीय समाजसेवी पुष्पलाल दाहालले २ लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने घोषणा गर्नु भएको छ । यस्तै समाजसेवी सीताराम लुइँटेलले ५० हजार रुपैयाँ तथा ज्येष्ठ नागरिक समाजका अध्यक्षले ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गर्नू भएको छ । यसैगरि लेटाङ नगरपालिकाम कार्यरत सबै स्वास्थ्य स्वयम् सेविकाहरुले नगर अस्पतालाई १/१ थान प्लाष्टिकको कुर्सी पनि हस्तान्तरण गरेका छन् ।

नगर प्रमुख लावतीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि तथा नगरवासीको उत्साहजनक सहभागिता रहेको थियो ।
हाल लेटाङ नगर अस्पतालमा चार जना विशेषज्ञ चिकित्सकसहित ३५ जना जनशक्तिले विभिन्न ४० प्रकारका सेवा प्रदान गर्दै आएको नगरपालिकाले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला ।



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार