काठमाडौँ । साहित्य सदन नेपालले कवि एवं समालोचक डा. रामप्रसाद ज्ञवालीलाई गोपालप्रसाद रिमाल पुरस्कार प्रदान गरेको छ । नेपाली गद्य कविताका प्रवर्तक, क्रान्तिकारी विद्रोही कवि तथा यथार्थवादी नाटककार गोपालप्रसाद रिमालको १ सय ७ औँ जन्मजयन्तीको अवसरमा साहित्य सदन नेपालले रामहिटी वौद्धस्थित आफ्नै कार्यालयमा शुक्रबार विशेष कार्यक्रम गरि ज्ञवालीललाई पुरस्कार प्रदान गरेको हो ।
साहित्य सदन नेपालका अध्यक्ष प्रा. डा. हेमनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईंको प्रमुख आतिथ्यता तथा पूर्व सदस्यसचिव प्राध्यापक जगत् उपाध्याय प्रेक्षितको विशेष आतिथ्य रहेको थियो ।

समारोहमा प्रा.डा. कपिल लामिछाने, गोपालप्रसाद रिमालका सुपुत्र मदन रिमाल, प्रा. डा. देवी नेपाल, जनगायक रामकृष्ण दुवाल, बालसाहित्यकार गङ्गा कर्माचार्य पौडेल, पुरस्कृत व्यक्तित्व ज्ञवालीकी जीवन सँगिनी उषा पन्थी ज्ञवाली लगायतका विशिष्ट व्यक्तित्वहरुको समेत आतिथ्यता रहेको थियो ।
कार्यक्रमका पुरस्कृत व्यक्तित्व कवि एवं समालोचक डा. रामप्रसाद ज्ञवालीलाई प्रमुख अतिथि, विशिष्ट, अतिथि लगायतले फूलको माला र दोसल्ला ओढाएर नगद राशि प्रदान गरी सम्मान तथा पुरस्कृत गर्नुभयो ।
कार्यक्रममा सदनका सदस्यहरू सुनीता बुढाथोकी र रमेश खनालले रिमालका कविता वाचन गर्नुभयो भने सदनका सदस्य विश्वनाथ तामाङको संयोजनमा कलाकारहरू सीताराम पोखरेल, जानुका भट्टराई र रेनु दुलालले रिमालको मसान नाटकको अंशलाई अभिनय गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वरिष्ठ सौन्दर्य चिन्तक निनु चापागाईँले प्रगतिशील कवि रिमालका नाममा स्थापित यस्तो गौरवमय पुरस्कार अर्का प्रगतिशील स्रष्टा ज्ञवालीलाई प्रदान गरेर साहित्य सदन नेपालले सही मूल्याङ्कन गरेको बताउनुभयो ।
उहाँले रिमालका नाममा स्थापित पुरस्कार प्राप्त गर्नुको अर्थ उहाँले देखाएका बाटोबाट विचलित हुन छुट नभएको बुझ्नुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रमका विशेष अतिथि जगत् उपाध्याय प्रेक्षितले रिमाल साहित्यकार मात्र नभएर परिवर्तनका संवाहक र राजनीतिक व्यक्तित्व पनि भएको तर त्यो पक्ष भने ओझेलमा रहेको बताउँदै पुरस्कृत व्यक्तित्व ज्ञवालीलाई बधाई दिनुभयो ।
कार्यक्रममा गोपाल प्रसाद रिमालका सुपुत्र मदन रिमालले आफ्ना बुबाले नै जय नेपाल भन्ने प्रचलन चलाउनु भएको उल्लेख गर्नुभयो ।
यस्तै पुरस्कृत व्यक्तित्व ज्ञवालीले रिमालका नाममा स्थापित पुरस्कार प्राप्त गर्दा आफू गौरवान्वित भएको र साधनालाई निरन्तरता दिन पुरस्कारले अरू उत्साहित बनाएको बताउनुभयो ।

कार्यक्रममा साहित्य सदन नेपालका उपाध्यक्ष मित्रलाल पंज्ञानीले रिमालको योगदानमाथि सारगर्भितरुपमा प्रकाश पार्नुभयो । समारोहमा प्राज्ञ प्रा. डा. देवी नेपालले पुरस्कृत व्यक्तित्व डा. ज्ञवालीको बहुमुखी व्यक्तित्व र कृतित्वका बारेमा विषदरूपमा प्रकाश पार्नुभयो । उहाँले साहित्य सदन नेपालले यस किसिमका कार्यक्रम गरेर सदनलाई उचाइमा लगिरहेको बताउनु भयो ।
कार्यक्रमका अन्त्यमा साहित्य सदन नेपालका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष प्रा. डा. हेमनाथ पौडेलले रिमाल गद्य कविताका प्रवर्तक र यथार्थवादी नाटकका प्रारम्भकर्ता भएको उल्लेख गर्नुभयो । उहाँले युगान्तकारी साहित्यकार रिमालका नाममा स्थापित पुरस्कार अर्का विशिष्ट एवं सशक्त प्रगतिशील स्रष्टा ज्ञवालीलाई प्रदान गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले यस किसिमको भव्य कार्यक्रम सम्पन्न गर्न गरिमामय रुपमा उपस्थित भएर सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिंदै सभा समाप्त भएको घोषणा गर्नुभयो ।
साहित्य सदन नेपालको प्रेक्षालयमा सम्पन्न समारोह सदनका सचिव कवि प्रह्लाद पोख्रेलले सञ्चालन गर्नु भएको थियो भने सदनका कोषाध्यक्ष वसन्त रिजालले स्वागत मन्तव्य राख्दै कार्यक्रममा उपस्थित साहित्यिक, प्राज्ञिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू लगायत सबैलाई स्वागत गर्नु भएको थियो ।
