लेटाङ । लेटाङ नगरपालिका वडा नम्बर ५ ले परम्परागत नौमती बाजा संरक्षणका लागि महिलाहरुलाई बाजा बजाउने तालिम प्रदान गरेको छ । लोकसंगीतका रुपमा रहेको नौमती बाजा पछिल्लो समय लोप हुँदै गएपछि लेटाङ नगरपालिका वडा नम्बर ५ ले महिलाहरुलाई तालिम प्रदान गरि बाजा संरक्षणका लागि पहल थालेको हो ।

वडा कार्यालयले वडाका विभिन्न टोलका १५ जना महिलाहरुलाई फागनु १२ गतेदेखि २१ गतेसम्म १० दिने तालिम प्रदान गरि नौमती बाजा बजाउन सिकाएको हो । बुधबार लेटाङ ५ स्थित गणेश मन्दिर परिसरमा तालिमको समापन गरिएको छ । लेटाङ ५ की कार्यवाहक वडाध्यक्ष शोभा खड्काको अध्यक्षता तथा लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा तालिममा सहभागी महिलाहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख कृष्णकुमारी निरौलाले नौमती बाजाको तालिम लिएपछि सँस्कृतिको जगेर्ना पनि हुने र महिलाहरुलाई आयआर्जन पनि हुने भएकाले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले नौमती बाजाको तालिम लिएका महिलाहरुका लागि अब नगरपालिकाले सकेसम्म यसैआर्थिक वर्षमा नभए आगामी आर्थिक वर्षमा भएपनि बाजा उपलब्ध गराउने प्रतिवद्धता जनाउनुभयो ।
उपप्रमुख निरौलले नौमती बाजाको तालिम लिएको भोलिपल्टदेखि नै आयआर्जन पनि गर्न सकिने भएकाले अन्य तालिम भन्दा बाजा बजाउने तालिम उपलब्धिमुलक भएको उल्लेख गर्नुभयो । उहाँले बाजा बजाउने कलामा अझ निपूर्ण भएर व्यवसायिक रुपमा अघि बढ्न महिलाहरुलाई आग्रह गर्नभुयो ।

यस्तै वडासदस्य सुकमाया लिम्बूले नौमती बाजा लेटाङ क्षेत्रमा लोप भइसकेको अवस्थामा संरक्षणका लागि वडाले महिलाहरुलाई तालिम प्रदान गरेको भन्दै बाजा बजाएर नाम र दाम कमाउन शुभकामना दिनुभयो ।
यसैगरि तालिमका प्रशिक्षक टीका सापकोटाले १० दिनको तालिम मात्र पर्याप्त नहुने भएकाले अझ अभ्यास गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले लेटाङमा तालिम लिएका महिलाहरुलाई थप तालिम आवश्यक परेमा वा व्यवसायिक रुपमा काम गर्ने विषयमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यस्तै स्थानीय टोल विकास सँस्थाका प्रतिनिधि उमानाथ बरालले १० दिने तालिम सकिएपछि पनि दैनिक रुपमा अभ्यास गरे मात्र शीप विकास हुने बताउनुभयो । उहाँले नौमती बाजाको तालिमका विषयमा केन्द्रित रहेर रचना गरेको गीत पनि गाएर सुनाउनुभयो ।
कार्यक्रममा समापन मन्तव्य राख्दै लेटाङ ५ का कार्यवाहक वडाध्यक्ष शोभा खड्काले वडाले हरेक वर्ष महिलाहरुलाई विभिन्न प्रकारका तालिम प्रदान गर्दै आएकोमा यसवर्ष लोप हुँदै गएको साँस्कृतिक बाजाको तालिम आयोजना गरेर महिलाहरुलाई उद्यम बनाउने प्रयास गरिएको बताउनुभयो ।
कार्यक्रममा नौमती बाजा बजाउन सिकाउने प्रशिक्षकद्वय टीका सापकोटा र तारा आचार्यलाई सम्मानपत्र प्रदान गरि टीका र खादा लगाएर सम्मान गरिएको थियो । तालिमको समापनका अवसरमा प्रशिक्षार्थी महिलाहरुले आफैँले लेखेको गीत गाउँदै नौमती बाजा बजाएर नाचेका थिए ।
