लेटाङ । लेटाङ नगरपालिकाले विशेष कार्यक्रम गरि संविधान दिवस मनाएको छ । नगर प्रमुख भुपेन्द्रकुमार लावतीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनिधि, संघसँस्थाका प्रतिनिधि, पत्रकारहरु र जेनजीका युवाहरुलाई संविधानको पुस्तक वितरण गरिएको छ । नगर प्रमुख भूपेन्द्रकुमार लावतीले सबैलाई पुस्तक हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले संविधान बारे जनतालाई जानकारी गराउनु राज्यको कर्तव्य भएकाले पुस्तक वितरण गरिएको बताउनुभयो । उहाँले २०७२ सालमा जारी भएको नेपालको संविधान उत्कृष्ट संविधान भएकाले यसको कार्यान्वयनतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
संविधानमा रहेका व्यवस्था बारे जानकारी गराउँदै उहाँले असहमति र असन्तुष्टि रहेको अवस्थामा संविधान संशोधन गरेर जान सकिने पनि बताउनुभयो ।
कार्यक्रममा राजनीतिक दलका तर्फबाट नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष भुपेश लिम्बू, नागरिक समाजका अगुवा सिताराम लुईटेल र जेन्जी युवाहरुको तर्फबाट रिचन तिम्सिनाले मन्तव्य राख्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख कृष्णकुमारी निरौला, वडाध्यक्ष लगायतका जनप्रतिनिधहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जेन्जीका प्रतिनिधिहरु, नागरिक समाजका प्रतिनिधि, पत्रकार तथा सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।