काठमाडौंः देशभरका १३ स्थानीय तहले हालसम्म चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेका छैनन् । ७५३ पालिकामध्ये अन्य पालिकाले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् ।
भूमि व्यवस्था, सहकारी, संघीयय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पोर्टलमा सम्बन्धित स्थानीय तहले प्रविष्ट गरेको विवरणका आधारमा मधेश प्रदेशका १० स्थानीय तहले हालसम्म बजेट प्रस्तुत गर्न सकेका छैनन् ।
जसमा सिराहाको सुखीपुर नगरपालिका, औरही गाउँपालिका, धनुषाको कमला नगरपालिका, रौतहटको गरुडा नगरपालिका, कटहरीया नगरपालिका, फतुवा विजयपुर नगरपालिका, मौलापुर नगरपालिका र यमुनामाई गाउँपालिकाले चालु आवको बजेट प्रस्तुत गरेका छैनन् । पर्साको छिपहरमाई गाउँपालिका र पकाहा मैनपुर गाउँपालिका रहेका छन् ।
कोशी प्रदेशको धरान उपमहानगरपालिका, लुम्बिनी प्रदेशको रुपन्देही कोटहीमाई गाउँपालिका र कपलिवस्तुको शुद्धोधन गाउँपालिकाले पनि बजेट ल्याएका छैनन् ।
संविधानअनुसार हरेक वर्षको जेठ १५ गते संघीय सरकारको, असार १ गते प्रदेश सरकार र असार १० गते स्थानीय तहको बजेट सार्वजनिक हुने गरेको छ ।