पथरी । पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को बजेट, नीति तथा कार्यक्रम बारे पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । विहीबार नगरपालिकामा भएको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता नवीन कार्कीले बजेटका मुख्य विशेषता तथा कार्यक्रम बारे जानकारी दिनुभयो ।
नगर उपप्रमुख देवीमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, वडा नं. १० का वडाध्यक्ष जिवन खतिवडा र कार्यपालिका सदस्य मिना योञ्जन लगायतको उपस्थितिमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै नगर प्रवक्ता कार्कीले कुल ८१ करोड ९९ लाख ११ हजार रुपैयाँको बजेट ल्याएको जानकारी दिनुभयो ।
नगरपालिकाको प्रशासनिक भवन निर्माण, नगर अस्पतालमा फार्मेसी सञ्चालन, दुध चिस्यान मेसिन खरिद, पुलचौक भातेगौँडा सडक कालोपत्रे, त्रिवेणी चौक शनिश्चरे सडक कालोपत्रे, सहिद रत्नकुमार वान्तवा मार्ग कालोपत्रे, वुद्ध माविको भवन निर्माण, मेड इन पथरीशनिश्चरे ब्राण्डिङका लागि प्रोत्साहन अनुदान सञ्चालन र फोहोर व्यवस्थापन केन्द्र निर्माण लगायतका योजनाका लागि बजेट विनियोजन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रवक्ता कार्कीका अनुसार प्रशासनिक भवन निर्माणका लागि ४ करोड, नगर अस्पतालमा फार्मेसी सञ्चालनका लागि विउ पूजी २ करोड र वुद्ध माविको भवन निर्माण गर्न १ करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

यस्तै ‘सुरक्षित घर कार्यक्रम’ अन्तर्गत घरविहीन नागरिकका लागि आवास निर्माणलाई निरन्तरता दिइने, १२ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य विमा र प्राविधिक शिक्षामा अनुदानमार्फत सक्षम जनशक्ति उत्पादन गरिने योजना पनि बजेटमा समावेश गरिएको छ ।
यस वर्षको बजेटमा पूर्वाधार विकास, स्वास्थ्य सेवाको गुणस्तर वृद्धी, रोजगारी सृजना, कृषिको यान्त्रिकीकरण तथा व्यवसायीकरणलाई प्राथमिकतामा राखिएको जनाइएको छ ।
पत्रकार सम्मेलनमा पत्रकारहरुले नगरपालिकाको फोहोर व्यवस्थापनको काम कसरी अघि बढ्छ भनेर जिज्ञाशा राखेकामा प्रमुख प्रशासकीय अधिकृत शशि राईले फोहोर व्यवस्थापनका लागि अपनाउन सकिने विभिन्न विधिहरु बारे छलफल भइरहेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नगरपालिकाले हालसम्म जम्मा २५ करोड ३० लाख ९३ हजार रुपैयाँ बेरुजु घटाएर आर्थिक वर्ष २०८१÷८२ मा ६ करोड ९२ लाख ८३ हजार १ सय ८७ रुपैयाँ पुनः फर्चोट गरेको र हालसम्मको कुल बेरुजु ११ करोड ४९ लाख ८४ हजार ४७३ रुपैयाँ कायम गरिएको जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा पथरीशनिश्चरेसहित, लेटाङ, उर्लाबारी र कानेपोखरीमा क्रियाशील पत्रकारहरुको उपस्थिति रहेको थियो ।
हेर्नुहोस् प्रेस विज्ञप्ती :